Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस/एपी)

दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन् । यो दुर्घटना पछिल्ला दिनमा जिम्बाब्वेमा भएका सडक दुर्घटनाको शृङ्खलाकै अर्को घटना हो ।
    प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको थियो । राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्गमा अर्को सवारीसाधनलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको उहाँले विज्ञप्तिमार्फत बताउनुभएको छ ।
    सरकारी प्रसारण संस्था ‘जेडबीसी न्युज’का अनुसार २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
    स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि मिनीबसमा आगलागी हुँदा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।  न्याथीले दुवै सवारीसाधनमा रहेका यात्रुको सङ्ख्या यकिन हुन नसकेको बताउनुभयो ।
    दुर्घटनामा मृत्यु हुनेहरू सेतो पोसाक लगाउने परम्पराका लागि परिचित अफ्रिकाको एक लोकप्रिय स्थानीय क्रिश्चियन सम्प्रदायका सदस्य रहेको बताइएको छ ।
    जिम्बाब्वेमा क्षमताभन्दा बढी यात्रु बोकेका बस तथा मिनीबस र नियमनबाहिर रहेका ट्याक्सी दुर्घटनामा पर्ने गरेका छन् । तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति तथा सडकको खराब अवस्थालाई दुर्घटनाका प्रमुख कारण मानिन्छ ।
    जिम्बाब्वेका अधिकारीहरूका अनुसार देशमा हुने सडक दुर्घटनामध्ये करिब ९४ प्रतिशत मानवीय त्रुटिका कारण हुने गरेका छन् ।
    संयुक्त राष्ट्रसङ्घको अफ्रिकाका लागि आर्थिक आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनामा परी वार्षिक करिब तीन लाख मानिसको मृत्यु हुने गरेको छ । यो विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको करिब एक चौथाइ हो । आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनाबाट हुने मृत्युदर विश्वमै सबैभन्दा उच्च छ ।
    करिब एक दशमलव पाँच अर्ब जनसङ्ख्या रहेको अफ्रिकी महादेशमा विश्वभर सञ्चालनमा रहेका कुल सवारीसाधनको करिब तीन प्रतिशत मात्रै रहेको भए पनि सडक दुर्घटनाबाट हुने मृत्युको दर उच्च रहेको आयोगले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan