रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि काठमाडौं प्रशासनको राहत संकलन अभियान
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन अभियान सुरु गरेको छ ।
भदौ १० गते आएको भीषण बाढीका कारण नदी किनारका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग पुर्याउन प्रशासनले राहत संकलन अभियान अघि बढाएको हो ।
प्रशासनले जारी गरेको सूचनाअनुसार काठमाडौं उपत्यकाभित्र रहेका संघ–संस्था, क्लब, कम्पनी तथा नागरिकस्तरबाट संकलन हुने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री एकद्वार प्रणालीमार्फत मात्र संकलन गरिनेछ ।
संकलित राहत सामग्री सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा काठमाडौंस्थित सुरक्षा निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा पठाइने प्रशासनले जनाएको छ । यसबाट राहत वितरणमा दोहोरोपन हटाउँदै वास्तविक पीडितसम्म सामग्री छिटो र व्यवस्थित रूपमा पुर्याउने लक्ष्य राखिएको छ ।
राहत सामग्री संकलन तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकेको छ ।
त्यस्तै, नगद सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा प्रशासनले उपलब्ध गराएको क्यूआर कोडमार्फत मात्र रकम जम्मा गर्न आग्रह गरिएको छ ।
प्रशासनले विपद्को यस कठिन घडीमा सहयोग गर्न इच्छुक सबै संघ–संस्था तथा नागरिकलाई एकद्वार प्रणालीमार्फत राहत अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।
