बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको स्थलगत अनुगमन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बाढी प्रभावित नुवाकोटको त्रिशूली तथा आसपासका क्षेत्रमा स्थलगत अनुगमन गरी खोज, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनुभएको छ।
अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालबाट परिचालित जनशक्ति, स्रोत–साधन तथा विशेषज्ञ टोलीले गरिरहेका खोज तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिनुका साथै प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न आवश्यक निर्देशन दिनुभएको छ।
महानिरीक्षक पौडेल नेपाली सेनाको नम्बर १ सैन्य तालिम केन्द्र पुगेर गृहमन्त्रीसँग बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका खोज तथा उद्धार अपरेसन तथा आगामी कार्ययोजनाबारे छलफल गर्नुभएको थियो।
त्यसपछि उहाँले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गुल्म नुवाकोटमा पुगेर नम्बर ३ गढीमाई वाहिनीका वाहिनीपति डीआईजी किरण बस्नेतसँग प्रभावित क्षेत्रमा भइरहेको जनशक्ति परिचालन, स्रोत–साधन व्यवस्थापन तथा विशेषज्ञ टोलीबाट सञ्चालन भइरहेका खोज तथा उद्धार कार्यबारे जानकारी लिनुभयो।
महानिरीक्षक पौडेलले विदुर नगरपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बलले स्थापना गरेको फिल्ड अस्पतालको समेत अवलोकन गर्नुभएको छ। उहाँले अस्पतालबाट प्रदान भइरहेको स्वास्थ्य सेवा तथा विपद्मा परेका नागरिकको उपचार व्यवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिनुभयो।
यसैगरी विदुर–५, देवीघाटस्थित आयुर्वेदिक स्वास्थ्य केन्द्रमा रहेको होल्डिङ सेन्टरको निरीक्षण गरी त्यहाँ खटिएका सशस्त्र प्रहरीका स्वास्थ्य तथा सुरक्षा टोलीबाट भइरहेका कार्यबारे जानकारी लिनुभयो।
महानिरीक्षक पौडेलले देवीघाटस्थित बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीका डग स्निफिङ तथा Search & Rescue टोलीबाट भइरहेको खोज तथा उद्धार कार्यको समेत स्थलगत निरीक्षण गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले स्थानीय बासिन्दासँग छलफल गरी बाढीबाट भएको क्षति, उद्धारको अवस्था तथा स्थानीय आवश्यकताबारे जानकारी लिनुभयो।
सो अवसरमा महानिरीक्षक पौडेलले विपद्को कठिन घडीमा सुरक्षा निकायले आफ्नो पूर्ण क्षमताका साथ खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो।
उहाँले प्रभावित नागरिकको जीवनरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्न मातहतका सुरक्षा टोलीलाई निर्देशन दिनुभएको छ।
