रसुवा बाढी उद्धारमा तीव्रता : १५ हेलिकप्टर परिचालन, ८२९ जनाको हवाई उद्धार (अपडेट)
काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावितको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा गरी १५ वटा हेलिकप्टर परिचालन गरी उद्धार कार्य जारी राखिएको छ।
आज बिहान ९ बजेसम्म नेपाली सेनाका हवाई साधनबाट ७२४ जना र गैरसैनिक हवाई साधनबाट १०५ जना गरी कुल ८२९ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै, २०० जनाको जमिनीमार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ। सुरक्षाकर्मीले उद्धारसँगै राहत सामग्री वितरणको कामसमेत अघि बढाइरहेका छन्।
स्वास्थ्य सेवातर्फ पनि आपत्कालीन उपचारलाई प्राथमिकता दिइएको छ। वीरेन्द्र अस्पतालबाट खटिएको डाक्टर अधिकृतसहितको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रबाट ५८३ जनालाई स्वास्थ्य सेवा दिएको छ। त्यस्तै, फिल्ड एम्बुलेन्समार्फत धुन्चे क्षेत्रमा खटिएको मेडिकल टोलीले ५६२ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। यसरी हालसम्म १ हजार १४५ जनाले स्वास्थ्य सेवा पाएका छन्।
खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन र सैनिक कुकुर (सैनिक डग) समेत परिचालन गरिएको छ। बाढी तथा पहिरोका कारण सम्पर्कविहीन हुन सक्ने क्षेत्रमा प्रविधि र विशेष तालिमप्राप्त टोलीको प्रयोग गरी खोजी भइरहेको छ।
यसैबीच, नेपाली सेनाका २० वटा ट्रकमार्फत त्रिशूलीमा राहत सामग्री ढुवानी गरिएको छ। त्यहाँ संकलित राहत सामग्री आवश्यकता र अवस्थाअनुसार हवाई साधनमार्फत प्रभावित क्षेत्रमा पुर्याउने कार्यसमेत भइरहेको सेनाले जनाएको छ।
