Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्यः परराष्ट्रमन्त्री खनाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस)

काठमाडौँ, १३ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएकाले पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग आवश्यकतापर्ने बताउनुभएको छ । 

    परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले गत बुधबार गएको बाढीपहिरोबाट नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएकाले पनि भएकाले पनि विपद् प्रभावित क्षेत्रका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभयो ।

    “बाढीले यहाँ ठूलो सङ्ख्यामा मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले बाढीमा परेकाका स्वदेशी तथा विदेशी नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौँ ।” 

    मन्त्री खनालले विपद्को निश्चित चरण हुने भएकाले पनि सरकारको अहिले प्राथमिकतामा उद्धार गर्ने र सकेसम्म नेपाली तथा विदेशी नागरिकको ज्यान जोगाउनेतर्फ केन्द्रित भइरहेको स्पष्ट पार्नुभयो । 

    “उद्धारपछि सरकार छिट्टै राहतको चरणमा प्रवेश गर्नेछौँ । जहाँ मानिसलाई अस्थायी बसोबासको अवसर प्रदान गर्नुपर्ने हुन्छ । र तेस्रो चरणमा हामी पुनःस्थापना र पुनर्निर्माणमा लाग्नेछौँ”, मन्त्री खनालले भन्नुभयो, “अहिलेका लागि मानिसलाई विद्यालय वा अन्य सामुदायिक ठाउँमा राखिएको छ ।” उहाँले छिमेकी राष्ट्रहरूसँग विशेषगरी सुरुङ उद्धार र फेरेन्सिकलगायत सहायता माग गरिएको बताउनुभयो ।

    परराष्ट्रमन्त्री खनालले सरकारले दाता सम्मेलनका विषयमा अहिलेसम्म कुनै निर्णय गरिनसकेको स्पष्ट पार्नुभयो । “अहिलेको आपतकालीन स्थिति र विपद्को प्रकृतिलाई हेर्दा तुरुन्तै दाता सम्मेलनको कुनै समयसीमा दिन गाह्रो छ, किनकी अहिले हाम्रो ध्यान उद्धारमा बढी केन्द्रित छ”, उहाँले भन्नुभयो, “म ठ्याक्कै समय भन्न त सक्दिन, तर हामी जतिसक्दो चाँडो विपद्बाट भएको क्षति तथा नोक्सानको मूल्याङ्कन तयार पार्नेछौँ ।” 

    मन्त्री खनालले दाता सम्मेलनका विषयमा परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयबीच आवश्यक समन्वय रहेर दाता सम्मेलनका विषयमा आवश्यक निर्णय लिइने बताउनुभयो । उहाँले भोटकोशी बाढीले नेपालका सीमित केही जिल्लामा मात्रै प्रभाव पारेको बताउँदै नेपालका काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन र सगरमाथालगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र खुला रहेको जानकारी दिनुभयो । उहाँले अन्तरराष्ट्रिय समुदायलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको सन्देश प्रवाह गर्न पनि आह्वान गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan