जेलको अवस्था प्यालेष्टिनी कैदीका लागि उचित भएको इजरायली सुरक्षामन्त्रीको दावी
इजरायलमा रहेका प्यालेष्टिनी कैदीका लागि जेलको अवस्था उचित भएको इजरायली सुरक्षामन्त्रीको दावी गर्नुभएको छ ।
इजरायलका दक्षिणपन्थी नेता तथा राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन ग्वीरले आइतबार प्यालेस्टिनी कैदीहरूको अवस्थाबारे प्रतिक्रिया दिँदै यो गाजामा आफ्ना बन्धक नागरिकलाई दिइएको भन्दा निकै सुविधाजनक रहेको दावी गर्नुभएको हो ।
उहाँको यो भनाइ इजरायली जेलमा रहेका विशेष गरी केही प्यालेष्टिनी महिला कैदीहरूलाई भेटेपछि बाहिरिएको हो ।
निर्वाचन हुन दुई महिना अगाडि मन्त्री वेन ग्वीरले एउटा भिडियो पोस्ट गर्दै उक्त भनाई सार्वजनिक गर्नुभएको हो । भिडियोमा गोपनियताका लागि अनुहार धमिलो पारिएको घुम्टो लगाएकी एक महिलाले भन्नुभएको छ, “कैदीहरूको अवस्था ‘अत्यन्त खराब’ छ महिला भएकाले हाम्रा विशेष आवश्यकताहरू छन् तर हामीलाई कुनै अधिकार छैन ।”
रोगको जोखिमबारे भय व्यक्त गर्दै कैदी महिलाले भन्नुभयो, “हामीले तीन दिनदेखि नुहाएका छैनौँ र भित्री कपडा पनि फेरेका छैनौँ । हाम्रो स्वास्थ्य र सरसफाइको कसले ध्यान दिने हो?”
बेन ग्वीरले महिलाको भनाइप्रति सहमति जनाउँदै तर यसलाई हमासलगायतका लडाकू समूहले इजरायली बन्धक (उनीहरू अहिले फिर्ता भइसकेका छन्) ले गाजामा दिएको सुविधासँग तुलना गर्दै भन्नुभयो, “हमास र अन्य आतङ्कवादीहरूले गाजामा सन् २०२३ अक्टोबर ७ का आक्रमणपछि दुई वर्षसम्म बन्धक बनाएका इजरायलीहरूको अवस्था कस्तो थियो । इजरायली जेलको अवस्था पक्कै पनि त्योभन्दा नराम्रो छैन होला ।”
उहाँले भन्नुभयो, “हाम्रा बन्धकहरूसँग स्याम्फु थिएन र यस्ता अवस्था पनि थिएनन्। म गर्व गर्छु कि हामीले ‘आतङ्कवादी’हरूको जेलको अवस्थालाई न्यूनतम स्तरमा सुधार गर्न सफल भएका छौँ । गर्मीको समय सकिएको छ ।”
राजनीतिक जीवनको सुरुवातमा जातिवाद लगायतका अपराधमा दोषी ठहर गरिएका उहाँ उत्तेजक कार्य र बयानको लागि चर्चित मानिनुहुन्छ ।
यसअघि यसै वर्ष उहाँले गाजाको नाकाबन्दी तोड्न खोजेको एउटा फ्लोटिला (सहायताका लागि सामान बोकेको गाडीको समूह) का विदेशी सहायताकर्मीहरूलाई हात बाँधेर घुँडा टेकाइएको भिडियो सार्वजनिक गर्दै अपमानजनक शैलीमा ‘इजरायलमा स्वागत छ’ भन्ने भिडियो पोस्ट गर्नुभएको थियो ।
सहायताकर्मीहरूले उनीहरूमाथि शारीरिक दुव्र्यवहारको रिपोर्ट गरेका बताएका थिए । एक अस्ट्रेलियाली महिलाले इजरायली अधिकारीहरूले यौन दुव्र्यवहार गरेको दाबी गर्नुभयो । इजरायलले यसलाई अस्वीकार गरेको छ ।
बेन ग्वीरले दिएको अभिव्यक्तिले हालै फेरि अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको छ । उहाँले गाजामा हरेक रात ३० देखि ४० प्यालेस्टिनीहरूलाई मार्नुपर्ने पनि बताउनुभएको थियो ।
भिडियोमा बोलिरहेकी कैदी यास्मिन शाबान भएको उहाँको पतिको भनाइ छ । उहाँलाई मे २०२५ मा जेनीन नजिकैको घरमा छापा मार्दा इजरायली सेनाले फेरि पक्राउ गरेको थियो। यो गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएको केही महिनापछिको घटना हो ।
प्यालेस्टिनी प्राधिकरणको कैदी मामिला आयोगले बेन ग्वीरमाथि ‘क्रूरता, घृणा र जातिवाद’ को आरोप लगाएको छ ।
हमासको नियन्त्रणमा रहेको गाजाको कैदी मन्त्रालयले बेन ग्वीरको भिडियोलाई ‘अनधिकृत शासन कति गहिरो पतनमा पुगेको छ भन्ने देखाउँछ’ भनेर टिप्पणी गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धनले केही सर्वेक्षणमा अक्टोबर २७ को निर्वाचनमा कमजोर हुने देखाएका छन् । बेन ग्वीरले दक्षिणपन्थीको सम्भावना बढाउन अर्को उग्रराष्ट्रवादीसँग संयुक्त रूपमा चुनाव लड्ने नेतन्याहुको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।
