Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस-एएफपी)

काराकास, १४ भदौ : भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौताअन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्त्वपूर्ण पहुँच दिइए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने बताइएको छ ।

“एउटा कुरा स्पष्ट हुनुपर्छ–भेनेजुएलाले आफ्ना स्रोतसाधनमाथि स्वामित्व र सार्वभौमसत्ता कायम राख्छ”, रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै भन्नुभयो ।

सम्झौताको उद्देश्य जमिनमुनि रहेका ‘निष्क्रिय’ तेल स्रोतलाई भेनेजुएलाका जनताको सामाजिक तथा आर्थिक कल्याणको स्रोतमा रूपान्तरण गर्नु रहेको उहाँले बताउनुभयो ।

काराकासका अनुसार सम्झौताअन्तर्गत निजी क्षेत्रबाट करिब १०० अर्ब डलर लगानी भित्र्याइनेछ । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाको तेल उद्योगलाई पुनर्जीवित गर्न उक्त लगानी प्रयोग गरिनेछ ।
    
तर सम्झौताको विस्तृत विवरण सार्वजनिक नगरिएकामा भेनेजुएलामा चिन्ता बढेको छ । सरकार समर्थकसहित सामाजिक सञ्जालका प्रयोगकर्ताले सार्वभौमसत्ता गुम्ने जोखिम, देशले पाउने लाभ र सम्झौताको राजनीतिक मूल्यबारे प्रश्न उठाएका छन् ।

“यसबाट कसलाई फाइदा हुन्छ–भेनेजुएलालाई कि संयुक्त राज्य अमेरिकालाई—हामीलाई थाहा छैन”, ६८ वर्षीय सुरक्षा गार्ड जिसस सालाजारले भन्नुभयो “मलाई शङ्का छ, तर के हुन्छ भनेर पर्खनुपर्छ ।”

जनवरीमा अमेरिकी सेनाले लामो समयदेखि सत्तामा रहेका निकोलस मादुरोलाई सत्ताच्युत गरी नियन्त्रणमा लिएपछि भेनेजुएलाको सरकार ट्रम्प प्रशासनको तीव्र दबाबमा रहँदै आएको छ । वासिङ्टनले मादुरोकी उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम नेतृका रूपमा कायम रहन अनुमति दिएको थियो ।

भेनेजुएलाको सत्तारुढ दलले शनिबार राष्ट्रिय हितलाई प्राथमिकता दिने र लामो समयदेखिको आर्थिक प्रतिबन्ध तथा अन्य एकपक्षीय दबाबबाट उत्पन्न असर पार गर्न सहयोग गर्ने आर्थिक उपायलाई समर्थन गर्ने जनाएको छ ।

तेल उत्पादन बढे पनि चुनौती कायमै
रोड्रिगेजले भेनेजुएलाको खानी तथा पेट्रोलियम क्षेत्रलाई निजी पूँजी र विदेशी लगानीका लागि खुला गर्ने सुधार अघि बढाउनुभएको छ । यसैबीच, वासिङ्टनले मादुरो सरकारको पालामा भेनेजुएलाको तेल क्षेत्रमा लगाएका केही प्रतिबन्ध हटाएको छ ।
    
जनवरीदेखि जुलाईसम्म भेनेजुएलाको तेल उत्पादन २९ दशमलव आठ प्रतिशतले बढेर दैनिक १२ लाख ब्यारेल पुगेको बताइएको छ । यद्यपि यो उत्पादन करिब २५ वर्षअघिको स्तरभन्दा निकै कम हो ।

अमेरिकी सम्झौताले तेल उत्पादन बढाउने लक्ष्य राखेको भए पनि विश्लेषकहरूले त्यसका लागि समय लाग्ने बताएका छन् ।काराकासस्थित उच्च अध्ययन प्रशासन संस्थानका प्राध्यापक ओस्वाल्डो फेलिजोलाका अनुसार उत्पादनमा उल्लेख्य वृद्धि हुन कम्तीमा तीनदेखि चार वर्ष लाग्न सक्छ ।

उहाँले लामो समयदेखि पर्याप्त लगानी आकर्षित गर्न नसकेको भेनेजुएलाको तेल उद्योगमा अमेरिकी लगानीलाई सकारात्मक कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार राज्य स्वामित्वको पेट्रोलियोस डे भेनेजुएला (पीडीभीएसए) सँग आवश्यक लगानी गर्ने पर्याप्त आर्थिक स्रोत छैन ।

भेनेजुएलाको अर्थतन्त्र सन् २०१४ देखि २०२१ सम्म करिब ८० प्रतिशतले सङ्कुचित भएको थियो । यसका कारण लाखौँ मानिस गरिबीमा धकेलिएका छन् ।

सरकारी कर्मचारी कार्लोस बाकोले नयाँ सम्झौताबाट तेल राजस्व बढ्ने आशा व्यक्त गरे पनि दैनिक जीवनमा त्यसको प्रभाव देखिन बाँकी रहेको बताउनुभयो ।रोड्रिगेजले सम्झौताबाट २०४ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुने दाबी  गर्नुभयो । 

विश्लेषकहरूले भने पर्याप्त लगानी र उचित व्यवस्थापन भएमा सम्झौताले भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्न र आर्थिक पुनरुत्थानलाई गति दिन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan