बाढीपीडितको जीवन बचाउन ब्रह्माकुमारी राजयोगको मानवीय पहल : ८,६९४ पिन्ट रगत सङ्कलन
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित घाइते तथा बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालले देशव्यापी रूपमा सञ्चालन गरेको बृहत् रक्तदान अभियानबाट ८ हजार ६ सय ९४ पिन्ट रगत सङ्कलन गरेको छ।
सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न ब्लड बैंकलाई हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ। बाढीपछि काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्थापनमा उक्त रक्तसङ्कलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
विशेषगरी वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बाढी प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यकताअनुसार उक्त रगत प्रयोग गरिने जनाइएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा रक्तदान अभियानमार्फत मानवीय सेवामा योगदान पुर्याइएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ। विपद्को समयमा जात, धर्म, क्षेत्र र वर्गभन्दा माथि उठेर मानव जीवन रक्षाका लागि गरिएको यो अभियानलाई मानवीय संवेदना र विश्व बन्धुत्वको उदाहरणका रूपमा लिइएको छ।
ब्रह्माकुमारीज् समाज सेवा प्रभागले विपद्को कठिन घडीमा घाइते तथा बिरामीको जीवनरक्षाका लागि आवश्यक सहयोग र सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
