बाढीपछिको संकटबीच मन्त्रिपरिषद् बैठक आज, उद्धार र राहतबारे महत्वपूर्ण निर्णय हुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको हो।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जिल्लामा भएको जनधनको क्षति, जारी उद्धार तथा राहत अभियान र प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा बाढी तथा विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक थप कदमबारे निर्णय हुन सक्ने बताइएको छ। साथै, खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, बेपत्ता नागरिकको खोजी तथा प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्तिका विषयमा पनि छलफल हुने सम्भावना छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन परिचालन तथा अन्तर्राष्ट्रिय सहयोगसँग सम्बन्धित विषयमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ।
